नुवाकोट – मानव बेचबिखन तथा ओसारपसार विरुद्ध र सुरक्षित स्थानान्तरण सम्बन्धि कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले गरिब आफ्नै कारणले हुने धारणा व्यक्त गरेका छन् ।
मङ्गलबार नेपाल महिला घेदुङ काठमाडौंको आयोजना र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) नुवाकोटको समन्वयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रमुख तामाङले उक्त भनाई राखेका हुन् ।
संस्कार र संस्कृति जोगाउनकै लागि बढीमात्रामा जनजाती आदिवासी समुदायका मानिसले आफ्ना अन्नहरुको फुजुल खर्च गर्ने, मात्राभन्दा बढी घरेलु मदिरा बनाउने लगायतका कार्यले गर्दा आफ्नो जीविकोपार्जनलाई असहज परिस्तिथि सिर्जना गर्ने संस्कार र व्यवहारलाई अन्त्य गर्नुपर्ने बताए ।
“गरिबी हुनुमा अरुलाई मात्र दोष दिएर नहुने र आफ्नो पनि दोषलाई पनि देख्नुपर्ने छ”, उनले भने “गरिबी हुनुमा आफुले नै महत्वपूर्ण भूमिका खेलेको छ । मानव बेचविखन समस्यालाई गरिबीले पनि निम्त्याउने भएकोले यस्ता संस्कृतिको निवारणको लागि चेतनाको अभिवृद्धिको कार्यक्रम जिल्लास्थित गैरसरकारी संस्थाहरुले भूमिका खेल्नुपर्ने छ। यस्ता किसिमको क्षमता वृद्धिको लागि शिक्षा, रोजगारको सिर्जना गर्नुपर्ने छ ।”
“संस्कारको नाममा विकृती फैलाउने कार्यलाई निरुत्साहित गर्न जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तहमा त्यस्ता मानिसहरुको खोजि गर्नुपर्ने छ”, उनले भने “समुदायमा संस्कारको नाममा विकृति फैलाउने मानिसलाई सम्झाई बुझाई गर्न जनप्रतिनिधिले विरोध गर्नुपर्छ। भोटको नाममा त्यस्ता संस्कारलाई बढावा दिन नहुने र त्यस्ता विकृतिलाई चिरेर अगाडी बढ्नुपर्ने छ।”
जिल्लामा मानव बेचविखन न्यूनिकरण कार्यको लागि दण्ड निकाय प्रहरी प्रशासन, अदालत तथा सरोकारवालाले कार्य गर्दै आईरहेको छ । मानव बेचविखन तथा ओसारपसारमा पनि घट्दै आईरहेको उनले बताए ।
कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले विगतमा नुवाकोट सबैभन्दा बढि चेलीबेटी बेचबिखनमा दुर्नामी भएको जिल्लाको रुपमा परिचित रहेको र अहिले त्यसमा कमि आएको बताए ।
कार्यक्रममा मेघाङ गाउँपालीकाकि उपाध्यक्ष शान्ति लामाले अहिलेको परिस्थितिमा हाम्रो समाजमा जो असक्षम छ महिला होस् या पुरुष त्यस्ता व्यक्तिहरु बेचविखनमा परेको बताइन् । विगत शासकवर्गहरुले असक्षम महिलाहरुलाई खेलौना तथा मनोरञ्जनको रुपमा प्रयोग गर्ने गरेको छ । राज्य व्यवस्था तथा संरचना परिवर्तन आएपनि मानिसको सोचमा परिवर्तन नआएको बताइन् ।
कार्यक्रममा फोनिज नुवाकोटका सल्लाहकार तथा इन्सेक प्रतिनिधि नवदिप श्रेष्ठले नुवाकोट जिल्लाको त्रिवर्षीय मानव अधिकार उल्लंघन, महिला हिंसा, बेपत्ता नागरिक, बालबालिकाको तथ्यांक प्रस्तुत गरेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
