नुवाकोट – ६४ औँ सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ मूल नाराका साथ सहकारी दिवस मनाएको छ ।
बागमती प्रदेशका सांसद हीरानाथ खतिवडाको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा सहकारी विज्ञ केशवबहादुर थापाले सहकारी कार्यपत्र प्रस्तुत गरेका थिए ।
समारोहमा संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले संघको आगामी कार्यक्रम तथा वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

तथ्यांकअनुसार जिल्लाभित्र विभिन्न प्रकृतिको सहकारीहरुमा सञ्चालकको रुपमा १ हजार ८३४ जना महिला र २ हजार ३८४ जना पुरुष गरि जम्मा ४ हजार २०२ जना सञ्चालकहरु संलग्न छ । सहकारी संस्थाहरुमा ३२ हजार ५०० जना महिला ३५ हजार ३९९ जना पुरुषहरु आबद्ध छ ।
हाल जिल्लामा ५१४ सहकारीहरु सक्रिय रहेको छ । जसमा कृषि २५१, बचत तथा ऋण ९४, बहुउद्धेशीय ८८, कफी १५, उपभोक्ता १२, सामाजिक उद्यमी ११, दुग्ध ८, सामुदायिक ८, स्वास्थ्य ३, साना किसान २१, चिया १, तरकारी १, ट्राउट माछा १ वटा सहकारी रहेको छ ।
जिल्ला सहकारी संघमा गतवर्ष २६८ वटा सहकारी सदस्य रहेकोमा यसवर्ष वृद्धि भई २७६ वटा सहकारीहरुको आबद्धतासँगै सदस्यता विस्तार भएको छ । संघको शेयर पूँजी २ करोड १६ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
जिल्लाभित्रका सबै प्रकृतिका सहकारीहरुमा सदस्यहरुको शेयर पूंजी ५० करोड, बचत ४ अर्ब, ऋण लगानी करिब ४ अर्ब रहेको छ । जिल्लामा संचालनमा रहेको सहकारीहरुबाट ५४३ जना महिला र ३१९ जना पुरुषले प्रत्यक्ष रोजगारी पाएको छ ।
सहकारी बजार विकास कार्यक्रम
वार्षिक प्रगति विवरण अन्तर्गतको प्रारम्भिक सहकारीहरुमा ११ वटा संकलन केन्द्र निर्माण गरिएको छ। यस्तै, जिल्लामा ५ वटा तरकारी तथा फलफुल चिस्यान केन्द्रको स्थापन गरिएको छ । जसमा हरियाली, जिलिङ र नमुना कृषक सहकारी गरी तीन वटा चिस्यान केन्द्र निर्माणाधीन रहेको जनाएको छ ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा नुवाकोटका एक नगरपालिका र दुई गाउँपालिकामा सहरी बजार विकास कार्यक्रम संचालनमा छ । सहरी बजार विकास कार्यक्रम अन्तर्गत बेलकोटगढी नगरपालिकाको मदनपुर, बेलकोट/रातमाटे/दुईपिपल/जिलिङ र कुमारीलाई पकेट क्षेत्र छनौट गरीएको छ । ककनी गाउँपालिकाको ओखरपौवा, ककनी, चतुराले र चाउथेमा सहरी बजार विकास कार्यक्रम संचालनमा छ । यस्तै, शिवपुरी गाउँपालिकाको थानापती, समुन्द्रादेवी, सुनखानी र महाकालीमा संचालनमाअ रहेको छ ।
वि.सं.२०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था लिमिटेडको स्थापना भइ नेपालमा सहकारी अभियानको सुरुवात भएको थियो । त्यहि दिनको सम्झनामा चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको हो ।
सहकारी सम्मान
६४औं सहकारी दिवसको अवसरमा यसवर्षको “उत्कृष्ट सहकारी” गोसाइँकुण्ड चौतारी सहकारी बहुउद्देशिय संस्था लिमिटेडलाई सम्मानित भएको छ । सहयोगी बहुउद्देशिय सहकारी संस्थाका बाबुराम अधिकारी उत्कृष्ट संचालकबाट सम्मानित भएका छन् । यस्तै, लायन बचत ऋण सहकारीका लेखापाल ममता प्रधानलाई उत्कृष्ट कर्मचारीबाट सम्मानित गरेको छ ।
च्वाडी माध्यमिक विद्यालयका रचना खतिवडालाई नगद पाँच हजारको “सहकारी छात्रावृत्ति” प्रदान गरिएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
