‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना हुने भएको छ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रोले १ लाख ५० हजार र तेस्रो स्थान प्राप्त गर्ने फिल्मले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलद्वारा जारी विज्ञप्तिमा प्रतियोगितामा सहभागी हुन चाहने फिल्मकर्मीले ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही यही असार २५ सम्ममा स्क्रिप्ट पठाइसक्नु पर्नेछ। संकलित स्क्रिप्ट विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेसमेत विज्ञप्तिमा जनाइकाे छ।
प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ। लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाका लागि समयको सदुपयोग गराई सिर्जनात्मक रुपमा सक्रिय बनाउने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले सहभागिता हुन पाउने बताइएको छ।
राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक छ भने यसलाई नेसनल युथ काउन्सिलले प्रवर्धन गर्नेछ। प्रतियोगितामा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पिनेस र प्रमोटर्स नेपालको सहयोग रहने जनाइएको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
