विदुर – माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता विरोध खतिवडाले अब आउने चुनावमा केपी शर्मा ओलीकोभन्दा आफ्नो पार्टी ठूलो हुने दावी गरेका हुन्।
शनिबार नेकपा एकीकृत समाजवादी नुवाकोटद्वारा आयाेजित जिल्ला कमिटी गठन तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी खतिवडाले भने “हेर्नुहोला!, आउने चुनावमा केपी ओलिको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने राजनितीबाट सन्यास लिने छन् ।”
ओलीले झापामा चुनाव हार्ने डरले राप्रपासँग गठबन्धन गरेको आरोप लगाए। उनले भने “जो मान्छेले झापाको एउटा सिट छोडेर राप्रपाको १५ हजार मत थपेर चुनाव जितेर आयो, त्यो मान्छेले आज यत्रो फुर्ती ? न माधव नेपालले राप्रपासँग एकता गरे, न विरोध खतिवडाले गर्यो ? न रामकुमारी झाँक्रीले गर्नुभयो ? २०६४ सालमा केपी ओली, झापाको दमकमा पाखामा भ्यागुतो पछारिएर उत्तानो टाङ लागेको मान्छे, सबैभन्दा लोकप्रिय र राष्ट्रवादी नेता उत्तानो टाङ, तर मैले त २०४८ सालदेखि लगातार चुनाव जितिरहेको छु। अबको चुनावमा पनि मलाई फलामको चिउरा हुँदैन।”
“केपी ओलीको भाषणमा माधव नेपाल र प्रचण्डलाई ९० प्रतिशत गाली र १० प्रतिशत त टुक्कामात्रै हान्ने काम गरेको छ।”, उनले भने “केपी ओलीभन्दा माधव नेपाल सिनियर नेता हो, नेपाली राजनीतिमा माधव नेपालको हैसियत सम्मानजनक रहन्छ। उहाँले वामपन्थी आन्दोलनको नेतृत्व गर्नुहुन्छ।”
केपी ओली नेतृत्वमा पुगेपछि वामपन्थी आन्दोलन तहसनहस भएको उनले आरोप लगाए।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
