ललितपुर – नेवाः पत्रकार राष्ट्रिय दबूले पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील चार पत्रकार पुरस्कृत गरेका छन् । शनिबार ललितपुरमा भएको नवौ वार्षिक साधारणसभाको अवसरमा सो पुरस्कार वितरण गरिएको हो ।

पोखरका पत्रकार उदयबहादुर अमात्यलाई ज्ञानज्योति-लक्ष्मीप्रभा पत्रकारिता, कान्तिपुर दैनिकमा कार्यरत पत्रकार प्रशान्त मालीलाई ज्ञानदेवी–मणी पत्रकारिता स्मृति, बोधि टेलिभिजनका पत्रकार विमला शाक्यलाई भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता र फोटोपत्रकार पद्मसागर कक्षपतिलाई बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले जानकारी दिए । पुरस्कृत हुने पत्रकरहरुलाई क्रमश: २० हजार, १५ हजार, १२ हजार र १० हजार नगद राशी रहेको पुरस्कारबाट सम्मान गरिएको थियो ।

Rajendra Prasad Shrestha Ministry of Federal Affairs & General Administration
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ

कार्यक्रमका प्रमुख अतिथी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पुरस्कृत पत्रकारहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल भाषाको पत्रकारिताको विकासको लागि, सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताए ।

पत्रकार राष्ट्रिय दबूका सल्लाहकार नरेशवीर शाक्यले मातृभाषाको पत्रकारिताको विकास गर्न पहिलो नेपाल भाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशन गरेको उल्लेख गर्दै धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारको रुपमा स्थापित गर्न अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवार पत्रकार दबूसँगै फोनिजले राज्यको ध्यानाकर्षण गराउँदै आएको बताउँदै समावेशीले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई बलियो बनाउने धारणा राखे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बुले महासंघलाई समावेशी बनाउँदै समावेशी पत्रकारिताको विकासको लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्कृति, सम्पदाको प्रबर्द्धन गर्न सकिनेमा जोड दिँदै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग राखे ।

सम्बन्धित खवर