काठमाडौं – बीमा समितिले बनाएको नियम उल्लंघन गर्ने ११ बीमा कम्पनीलाई कारवाही गरेको छ ।
बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो । लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न बीमा कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गराउने बीमा समितिले निर्णय गरेको छ ।
निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा नबुझाउने कम्पनीहरुलाई कारवाही गरेको हो । यति धेरै कम्पनीलाई कारवाही गरेको पहिलो पटक हो ।
बीमा समितिद्वारा जारी प्रेस नोट
समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६–०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ ।
बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी–जानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो ।
त्यसरी जरीवाना गरीएका बीमा कम्पनीहरुमा दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
