बिदुर । नुवाकोट जिल्ला खेलकुद बिकास समिति र पंचकन्या गाउँपालिकाको संयुक्त आयोजनामा पंचकन्या गाउँपालिकाको घ्याङस्वाँरामा शुक्रवारदेखि संचालन भएको १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बिदुर नगरपालिकाले जितेको छ । प्रतियोगितामा १७ स्वर्ण, ५ रजत र १६ कास्य पदक जितेर बिदुरले उपाधि जितेको हो । प्रतियोगितामा लिखु गाउँपालिकाले १६ स्वर्ण, १२ रजत र ७ कास्य पदकसहित दोस्रो र म्यागङ गाउँपालिकाले १० स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरे ।
प्रतियोगिताका बिजेताहरुलाई सोमबार आयोजित समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, पंचकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, नुवाकोट जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय गुरुङ लगायतले शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरे । त्यसक्रममा प्रतिनिधिसभा सदस्य तामाङले खेल क्षेत्रको बिकासले मुलुकको समृद्धीमा समेत योगदान दिने भएकाले यसको समूचित बिकासमा सबै पक्षको समन्वयात्मक सहकार्य हुनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
प्रतियोगितामा नुवाकोटका नौवटा स्थानीयतहले सहभागिता जनाएको थियो । प्रतियोगितामा एकसय ९६ छात्र र एकसय ७० छात्र गरी तीनसय ९६ बिद्यार्थीहरुले एथलेटिक्स, भलिवल, कबड्डी, तेक्वान्दो, कराँते र उसुका बिभिन्न स्पर्धाहरुमा सहभागिता जनाएका थिए ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web