बिदुर । आईतबारबाट जारी बागमती प्रदेश मुख्यमन्त्रीकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । नुवाकोट जिल्ला खेलकुद बिकास समितिको आयोजना, बिदुर नगरपालिकाको संरक्षकत्व, नुवाकोट जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा बिदुर नगरपालिका वडा नम्वर २ को नागटारीस्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न प्रतियोगितामा सातवटा बिधामा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा महिला पन्ध्रबर्ष कम उमेरसमूहमा एमबिबिएफकी निभा राई, पुरुष १५ बर्षकम उमेर समूहमा सिन्धुलीका ईमा श्रेष्ठ, पुरुष सिंगलतर्फ एपीएफका प्रिन्स दाहाल, महिला सिंगल्सतर्फ त्रिभूवन आर्मीकी रशीला महर्जनले स्वर्णपदक प्राप्त गरे । यसैगरी त्रिभूवन आर्मीका सुरज महर्जन र अमिता गिरीको जोडी, पर्बतका प्रेम गुरुङ र सुरेन्द्र कटुवालको जोडी, हरि खड्का र अमित पाण्डेका जोडी, नुवाकोटका बिबेक जोशी र गणेश लामाको जोडी, एपीएफका भोजबहादुर गुरुङ र प्रबिणसिंह ठकुरीको जोडी स्वर्णपदक प्राप्त गर्न सफल रहे ।
प्रतियोगिताका पदक बिजेताहरुलाई संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले नगदसहित मेडल र प्रमाणपत्र बितरण गरे । त्यसक्रममा संबिधानसभा सदस्य केसीले नुवाकोटमा निरन्तर भएका खेल गतिबिधिहरुले जिल्लाको सकारात्मक पहिचान बढेको बताउँदै खेल मार्फत समृद्धिको खोजिमा लाग्न सकिने पनि स्पष्ट हुँदै गएको बताए । त्यसक्रममा बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय गुरुङ, नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङलगायतले प्रतियोगिताका बिबिध पक्षहरुमा आफ्ना धारणा राखेका थिए ।
तीनदिनसम्म चलेको प्रतियोगितामा तीनसय ४४ खेलाडी र १३ जना निर्णायकको सहभागिता रहेको प्रतियोगिता संयोजक चन्दन घलेले जानकारी दिए ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web