बिदुर । विदुर नगरपालिका–१० को बेत्रावतीलाई नेपाल र तिब्बत (चीन) बिचको सन्धिस्थलका रुपमा लिईन्छ । विक्रम सम्वत १८४९ मा दुई देशबिच सन्धि भएको बेत्रावती ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिँदै आएको छ र सन्धिस्थलको ब्यवस्थित पुनर्निर्माण हुनसके यस क्षेत्रको आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन भई यस क्षेत्रलाई अध्ययन अनुसन्धानको एक महत्वपूर्ण केन्द्र समेत बनाउन सकिने सरोकारवालाहरुको बुझाई छ । यसैक्रममा मंगलबार वेत्रावती सन्धि भएको स्थानको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको नेतृत्वमा ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’का प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेका छन् । दुई देशबीच सन्धि भएको ऐतिहासिक स्थल बेत्रावतीबाट सूर्यगढीसम्मको ऋङ्खलालाई सामरिक, कुटनीतिक, धार्मिक एंव पर्यटकीय सर्किट बनाउने उद्धेश्यसहित निरन्तर पहलकदमी लिईएको नगरप्रमुख श्रेष्ठको भनाई छ । त्यसक्रममा चिनियाँ निर्माण कम्पनी चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजका प्रतिनिधिहरुले स्थलगत अवलोकन पछि त्यहाँको ऐतिहासिक पक्ष, कुटनीतिक एवं सामरिक महत्वका सम्बन्धमा चीन सरकारलाई जानकारी गराउने बताए । नेपाली सेनासंगको सहकार्यमा विदुर नगरपालिका मार्फत वेत्रावती सन्धि स्थलको संरक्षण सहित प्रर्बद्धनका कार्य अघि बढाउन लागिरहेको सन्दर्भमा पुरातात्विक संरचनाको पुर्ननिर्माण सम्बन्धि काम गर्ने चिनियाँ निर्माण कम्पनीले सकारात्मक चासो देखाएको समेत नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।



© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web