नुवाकोट – जेष्ठ नागरिकको स्वास्थ्य सेवाको लागि त्रिशुली अस्पताल र देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबीच आपसी समझदारी भएको छ ।
तीनमहिना अवधि रहेको निशुल्क स्वास्थ्य शिविर सञ्चालनको लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिपेन्द्र पाण्डे र प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालबीच बिहिबार हस्ताक्षर भएको हो ।
डा. पाण्डेले जेष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७ अनुसार उक्त अवधिमा जेष्ठ नागरिकको स्वास्थ्य उपचारको लागि सम्झौता भएको जानकारी दिए । प्रतिष्ठानद्वारा संचालित ज्येष्ठ नागरिक सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारको लागि हरेक महिना त्रिशूली अस्पतालबाट निशुल्क स्वास्थ्य शिविर गरिने छ।
शिविर सञ्चालनले वर्षौंदेखि स्वास्थ्य सेवा नलिएका नागरिकलाई समेत सेवा पुग्ने भएको छ । आगामी तीन महिनासम्म सञ्चालन हुने शिविरले जिल्लाका अन्य जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा राहत पुग्ने छ ।
सम्झौतामा अनुसार निश्चित सेवामा आवश्यकता अनुसार ५० देखि १०० प्रतिशतसम्म छुट दिईने छ । स्वास्थ्य बीमामा आबद्ध भएका जेष्ठ नागरिकले शिविरबाट लाभ लिन सकिने छ। अस्पतालले हरेक महिनाको एक दिनपटक गरी तीनपटक नि:शुल्क शिविर सञ्चालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
विशेषज्ञसहितको स्वास्थ्य सेवा विदुर नगरपालिका वडा नम्बर ५ स्थित प्रतिष्ठानको प्राङ्गणमा हुने स्वास्थ्य शिविर हरेक महिनाको तेस्रो शुक्रबार सञ्चालन हुनेछ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
