विदुर – नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र नुवाकोटले १५ बुँदे माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार जनसंगठन समन्वय संयन्त्रका संयोजक निलकण्ठ आचार्य नेतृत्वको समुहले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई १५ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
नेपाली जनताको प्रमुख पेशा र नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि व्यवसाय हाल आएर संकटग्रस्त अवस्था छ । एकातिर कृषि पेशा परम्परागत रुपमा नै सञ्चालन भएका कारण उत्पादनमा वृद्धि हुन सकिरहेको छैन भने अर्कोतिर उत्पादन लागत बढी भएका कारण कृषकहरु मारमा परिरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ, “नेपालीहरुको प्रमुख खाद्यवाली मकै तथा धान उत्पादन गर्ने बेला नै रासायनिक मलको अभाव भइरहेको छ, तसर्थ यथाशीघ्र कृषकको लागि पर्याप्त मात्रामा रासायनिक मलको आपूर्ति गर्ने व्यवस्था गर्न हामी जोडदार माग गरेको छ । शैक्षिक सत्र शुरु भएको एक महिना बित्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीहरुले शिक्षा प्राप्त गर्नबाट बञ्चित हुनु बिडम्बना हो । तसर्थ बालबालिकाहरुलाई यथाशीघ्र पाठ्यपुस्तक उपलब्ध गराईयोस् ।”
यस्तै, विद्यार्थी आन्दोलनबाट प्राप्त सार्वजनिक सवारीसाधनमा ४५ प्रतिशत छुट दिदैं आएकोमा हाल यातायात व्यवसायीहरुले छुट दिन आनाकानी गरिरहेकोले विद्यार्थी आन्दोलन माथि नै धावा बोलेको आभाष भएकोले विद्यार्थी अधिकार सुनिश्चित गर्दै कायम गर्न माग गरेको छ।
ज्ञापनपत्रमा सवारीसाधनमा अनिवार्य गरिएको इम्बोस्ट नम्बर प्लेट बाध्यकारी खारेज गर्न भनि उल्लेख छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
