नुवाकोट – नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुपर्ने विवरण सच्चाउनुपर्ने मागसहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) नुवाकोट शाखाले नेपाल पत्रकार महासंघका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार फोनिज नुवाकोटका अध्यक्ष शक्तिमाया तामाङको नेतृत्वले नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका अध्यक्ष कपिलदेव खनालमार्फत् केन्द्रीय महासंघका अध्यक्ष विपुल पोख्रेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
फोनिजको त्रैमासिक कार्ययोजनाअनुसार आफ्ना जिल्ला शाखाहरुमार्फत् आज नेपाल पत्रकार महासंघका शाखामार्फत् केन्द्रीयसमितिलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ नुवाकोटका अध्यक्ष खनालले संस्थागत अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुको तथ्यसहित फोनिजले उठाएका मागलाई केन्द्रीय महासंघ सम्बोधन गर्नुपर्ने बताए ।
पत्रमा भनिएको छ, “विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो । अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ । वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।”
प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गरेको उल्लेख छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
