नुवाकोट – स्थानीय एवम् राष्ट्रियस्तरका धावक सम्मिलित हुने खुल्ला दौड प्रतियोगिता बेलकोटगढीको झिल्टुङमा हुने भएको छ । “जे गरौ, गज्जबले गरौ” नारासहित सातौँ झिल्टुङ क्रसकन्ट्री दौड यहि माघ १४ गते शनिबार हुने भएको छ ।
विदुरमा आईतबार बेलकोटगढी नपा वडा नम्बर ५ द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष मदन भुजेलले समुदायस्तरमा दौडलाई सांस्कृतिक एवम् पर्यटन प्रबर्द्धनको निमित्त यसवर्षदेखि वडाले जिम्मेवारी लिएको बताए ।
हरेक वर्ष आयोजना हुने प्रतियोगितामा साढे १३ किमि खुला महिला/पुरुषतर्फको दौड छ भने साढे १३ किमि खुला स्थानीय पुरुषतर्फको दौड रहेको छ ।
यसैगरी १६ वर्षमुनिका छात्र/छात्रातर्फ साढे ४ किमि खुला जुनियर दौड, १६ वर्षमुनिका स्थानीय छात्रा/छात्र दौड तथा साढे ४ किमि स्थानीय ४५ वर्षमाथिका पुरुषको दौड र भेट्रान खुला साढे १३ किमि पुरुषतर्फको दौड प्रतियोगिता रहेको छ । त्यसैगरी स्थानीय आमा समूहको साढे ४ किमि दौड प्रतियोगितासमेत राखिएको वडाध्यक्ष भुजेलले बताए ।
साढे १३ किमि खुला महिला तथा पुरुषतर्फको पहिलो पुरस्कार राशि १५ हजार, दोस्रो १० हजार र तेस्रो ५ हजार रहेको छ भने साढे १३ किमि स्थानीय खुला महिलातर्फको पहिलो, दोस्रो र तेस्रो पुरस्कार राशि क्रमशः १०, ७ र ५ हजार राखिएको छ । साढे ४ किमि स्थानीय आमा समूहतर्फको पुरस्कार राशि पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १२, ९ र ६ हजार रुपैयाँ राखिएको छ ।
दौडमा सहभागी हुनका लागि वडा कार्यालय र काठमाडौंका लागि त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको दोस्रो तल्लामा रहेको सम्पर्क कार्यालयमा नाम दर्ता खुला गरिएको आयोजकले जनाएका छ । नाम दर्ताका लागि एक सय रुपैयाँ र अन्तिम मिति भने यही बिहीबार १२ गतेसम्मलाई तोकिएको आयोजकले जनाएको छ ।
झिल्टुङ महाकवि लक्ष्मीप्रसाद देवकोटाको मामा सुराली घर भएकाले झिल्टुङलाई विश्वमा पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी सांस्कृतिक एवम् आर्थिक क्षेत्र उकास्ने लक्ष्य लिएर कार्यक्रम गर्न लागिएको बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले बताए । आठौँ संस्करणदेखि नगरपालिकाले प्रतियोगिताको अपनत्व लिई राष्ट्रियस्तरको दौडलाई निरन्तता दिने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा चार सयभन्दा बढी खेलाडीको सहभागीता रहने आयोजकले अपेक्षा लिएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
