पिपलटार – ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन’ भन्ने नाराका साथ सातौँ नुवाकोट महोत्सव आजबाट शुरु भएको छ।

विदुर नगरपालिका-५ पिपलटारमा जारी महोत्सवको प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आज यहाँ उद्घाटन गर्दै ५०० रोपनी जग्गा जुटेमा नुवाकोटमा औद्योगिक क्षेत्र विकास गर्न आफु तत्पर रहेको बताए ।

उद्घाटन समारोहमा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको बताए । जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना व्यवसायिक कृषि, जलविद्युत, पर्यटन, हस्तकला एवं व्यापार व्यवसायलाई प्रवद्धन गरी जिल्लामा आर्धिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा ब्राह्य लगानीलाई आकर्षण गर्ने महोत्सवको उद्देश्य रहेको बताए ।

कार्यक्रममा प्रदेश सांसद रमेशकुमार महत, नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसी, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठाकुरी, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र उपाध्यक्ष दीनेश श्रेष्ठले सरकारले गर्न नसकेको उद्योगको विकास निजी क्षेत्रले गरेको र केन्द्रको नीतिद्वारा स्थापना भएको देशका विभिन्न जिल्लामा स्थापित ईलम प्रशिक्षण केन्द्र नुवाकोटले मात्र निरन्तता दिएकोमा आभार व्यक्त गरेका छन् ।

महोत्सवमा विभिन्न जातीय झाँकी, नाच, भजन, भेषभुषा प्रदर्शन गरिएको थियो । नेवारको धिमे बाजा, लाखे नाच, मगरको घाटुनाच, किम्ताङको घोडानाच, तामाङको झाँक्रीनाच, कुमालको भेषभुषा, बाघभैरव समूहको भजन प्रस्तुत गरिएको थियो । 

महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्ग–अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघको द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । जिल्लामै उत्पादित घरेलु सामाग्रीदेखि लघु उद्यमीले उत्पादन गरेका सामाग्रीहरुलाई प्राथमिकतामा राखिएको उनले बताए ।

जिल्ला समन्वय समिति, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र जिल्लाका अन्य १० गाउँपालिका सहआयोजक रहेको छ । महोत्सव नारायणी फेयर एक्जिबीसन नेपालको व्यवस्थापनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड प्रबर्द्धक रहेको छ । 

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १० गतेसम्म सो महोत्सव चल्नेछ। उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका तीन सय स्टल रहेको महोत्सवबाट पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ।

सम्बन्धित खवर