देवीघाट – स्थानीय कला र संस्कृतिको जगेर्ना गर्दै भावीपुस्तालाई संस्कृति हस्तान्तरण गर्न बुधबार नुवाकोटको देवीघाटमा आयोजित शङ्खध्वनि प्रतियोगितामा ९ वर्ष देखी ८२ वर्ष सम्मका एक महिला र ५७ पुरुषले शङ्ख बजाएका छन् ।
जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएम १०६.८ मेघाहर्जले पहिलोपटक शङ्खध्वनि प्रतियोगिता आयोजना गरेको हो ।
सनातन हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने शङ्ख संरक्षण र सम्बर्धनार्थ बागमती प्रदेशका नुवाकोट, रसुवा र धादिङमै पहिलोपटक खुल्ला शङ्खध्वनि प्रतियोगितामा गरिएको रेडियोका उपाध्यक्ष सोहम सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा धादिङ गल्छी गाउँपालिका वडा नम्बर ७ का सन्तोष सुवेदी प्रथम, नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका रविन्द्रप्रसाद पाण्डे द्वितीय र सुरज प्याकुरेल तृतीय भएका छन् । यस्तै एक मात्र महिला सहभागिता जनाएका विदुर नगरपालिकाकी सिर्जना मुडभरीले सान्त्वना स्थान प्राप्त गरिन् भने शहिद जगत प्रकाशजंग शाह संस्कृत माविमा अध्ययनरत छात्र अग्रिम न्यौपानेले पनि सान्त्वना स्थान प्राप्त गरे।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः दश हजार, सात हजार र पाँच हजार रुपैयाँ नगदसहित सम्मान र मायाको चिनो प्राप्त गरेका छन् ।
यस्तै, सान्त्वनाले तीन हजार रुपैयाँ, मायाको चिनो र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
विजेतालाई बागमती प्रदेशसभाका सदस्य रमेशकुमार महत र विदुर नगरपालिकाकी प्रभा बोगटीले संयुक्तरुपमा पुरस्कार वितरण गरे ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
