विदुर – नुवाकोटका प्रख्यात चित्रकारहरुद्वारा कोरिएको चित्रकला प्रदर्शनमा छ । प्रदर्शनीमा चित्रकार शैलेश शाही, शशी डङ्गोल, नारायण श्रेष्ठ र श्रवण प्रधानका चित्रकला अवलोकनको साथै खरीदसमेत गर्न सकिने छ ।
जारी आठौँ नुवाकोट महोत्सवमा जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा टेवा पुर्याउने कलाको प्रदर्शनी गरिएको चित्रकार शैलेश शाहीले बताए । प्रदर्शनीमा राखिएको कला प्रदर्शनी मात्र नभई समग्र जिल्लाको पहिचान हुने उनले बताए ।
प्राय: तेलमा आधारित चित्र भएकोले चित्रकलाको आयु बढी रहने र सफाई गर्न सहज हुने चित्रकार शशी डङ्गोलले बताए । घर, कार्यालय, मायाको चिनो, व्यवसायिक प्रयोजनको लागि अवलोकनकर्ताहरुले चित्रकला खरिद गर्ने गरेको छ ।
“चित्रकला कोरेरै जिल्लामै बसेर जीवन निर्वाह गर्न सकिने छ”, उनले बताए “स्थानीय तहका १२ वटै पालिका, सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसायिक संस्थाले खरीद गरी चित्रकलाहरुको प्रवर्द्धन गरिदिनु पर्ने हो ।”
स्टलबाटै नुवाकोट दरबार क्षेत्र देख्न सकिने भएकोले प्रदर्शनीमा राखिएको दरबारका चित्रकला आकर्षणको केन्द्र बनेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
