विदुर – नेपाल पत्रकार महासंघको संस्थागत गलत इतिहास सच्याउन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सात दिनको समयसीमा दिएको छ।
मंगलबार फोनिज अध्यक्ष शक्तिमाया तामाङले पत्रकार महासंघ नुवाकोटका कार्यबाहक अध्यक्ष नवदीप श्रेष्ठलाई संघको सर्कुलर अनुसार प्रदेश समितिले गरेको परिपत्रको आधारमा नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत् महासंघ केन्द्रलाई पुनःस्मरणका लागि सात दिने समयसीमा दिएका हुन् ।
पत्रमा भनिएको छ “नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत रहेको सर्वविदितै छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समिति मार्फत माग गरिएको थियो । तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार भएन । सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नियत विरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ । तसर्थ, ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दछौँ । हाम्रो माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी गराउँदछौँ ।”
परिपत्रअनुसार यहि फागुन २१ गते नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र सबै जिल्लाहरुमा अनिश्चितकालीन तालाबन्दी समेत रहेको फोनिज अध्यक्ष तामाङले जानकारी दिईन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
