विदुर – विदुर सिटि युथ क्लबको सातौँ स्थापना दिवसको अवसरमा ५१ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
क्लब, विदुर युवा रेडक्रस सर्कल र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा विदुर नगरपालिका-२ लोकतान्त्रिक चौतारामा भएको रक्तदानमा महिला ७ जना र पुरुष ४४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष सुनील श्रेष्ठले जानकारी दिए ।
२० औँ विश्व रक्तदाता दिवसमा आयोजित रक्तदानमा १२ जना रक्तदाताहरुले ‘ओ पोजेटिभ’ रक्तदान गरेको आयोजक विदुर युवा रेडक्रस सर्कलका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।
रक्तदाताहरुलाई नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजाल, समृद्ध नुवाकोटका अध्यक्ष पूर्णमान कुमार श्रेष्ठ, पत्रकारद्वय देवचन्द्र भट्ट र श्रीराम अधिकारी, कलाकार दामोदर खतिवडालगायतले प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठ, रेडक्रसका सभापति श्रेष्ठ र जनस्वास्थ्यका सूचना अधिकारी रिजालले बिरामीहरुको जीवनदानको लागि सबैले ३/३ महिनाको अवधिमा निरन्तर रुपमा रक्तदान गर्नुपर्ने विचार व्यक्त गरे । रगत अमूल्य र मानवनिर्मित नभएर स्वत: मानव शरीरमा आफै बन्ने भएर रगतको महत्व जगाउन जनचेतनामुलक कार्यको साथै नियमित रक्तदान व्यवहार लागुपर्ने बताए ।
रक्तदान नेपाल रेडक्रस सोसाइटि नुवाकोटको समन्वय र ब्लड अन रिक्वेस्ट इन नुवाकोटको समन्वय र रेडक्रस सोसाइटी नुवाकोट शाखा अन्तर्गत सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
