२६, मङ्सिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट र छडजस्ता निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि रोक्न उद्योगमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण गराएको छ।
महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै निर्माण उद्योगमा मूल्यवृद्धिले पारेको असरबारे जानकारी गराएको हो।
महासंघले मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने माग राख्दै, रोक्न नसके भारतबाट शून्य प्रतिशत भन्सारमा सिमेन्ट आयातको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
‘सिमेन्ट र डन्डीजस्ता निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र प्रभावित भएको छ,’ महासंघले भनेको छ, सरकारले मूल्यवृद्धि खारेज गर्न नसक्ने हो भने निर्माणाधीन आयोजना पुनर्मूल्यांकन गरी सार्वजनिक खरिद ऐनअनुसार मूल्य समायोजन गर्नुपर्छ। साथै, सबै जिल्लाका दररेट समितिलाई वृद्धि भएको दर समायोजन गर्ने व्यवस्था गर्नुपर्छ।’
महासंघले राज्यले व्यवसायीहरूको बक्यौता भुक्तानी गर्न नसकेको वर्तमान अवस्थामा बिनाकारण निर्माण सामग्रीको मूल्यवृद्धि अस्वीकार्य भएको जनाएको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
