पुस ७, नुवाकोट । खेलकुदमा लैङ्गिक हिंसा गर्न नहुने सरोकारवालहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । आज विदुरमा आयोजित खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रममा सरोकारवालहरुले उक्त प्रतिबद्धता गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा मन्त्रालयका खेलकुद विकास महाशाखाका सहसचिव रुद्रप्रसाद अधिकारी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुमार बस्नेत, नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, खेलकुद विज्ञ सुलोचना सिजाख्वा, विद्यालयका प्रधानाध्यापकलगायतले खेलकुदमा हुने सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य लैङ्गिक हिंसाविरुद्ध लाग्नुपर्ने बताएका हुन् । खेलमा प्रशिक्षकले खेलाडी, ठुलोले सानोलाई, पुरुषले महिला खेलाडीलगायतलाई कुनै पनि विभेद गर्न नहुने बताएका छन् ।

कार्यक्रममा नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ हुने खेलकुदमा लैङ्गिक हिंसाविरुद्धको जनचेतनालाई जिल्लाभरका खेलाडी, सङ्घ/संस्थाका पदाधिकारी र सदस्यहरुमा माझ पुर्याउन नुवाकोटका १२ वटै स्थानीय तहमा कार्यक्रम ल्याउनुपर्ने बताए ।

कार्यक्रममा प्रशिक्षक सुलोचना सिजाख्वाले खेलकुदमा हुने लैङ्गिक हिंसाविरुद्धको प्रक्रिया, अपनाउनुपर्ने सजगतालगायतका बारेमा प्रष्ट पारेकी थिईन् ।

जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेल प्रशिक्षक, खेलाडी, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर