८ पुस, नुवाकोट । चौथौँ संस्करणको एनयुएफसी फुटबल प्रतियोगिताको फाइनल खेल आज बट्टारमा हुदैँछ ।
नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा भएको अन्तरविद्यालय जिल्लास्तरीय छात्र र छात्रा फुटबल प्रतियोगितामा छात्रातर्फको फाइनल खेल पञ्चमिलन कलादेवी मावि र चन्द्रज्योति माविबीच हुनेछ ।
पञ्चमिलनले दाङसिङ माविलाई सेमिफाईनलमा ३-० गोल हराउँदै फाइनल प्रवेश गरेको हो ।
यस्तै, छात्रतर्फ फाइनल खेल च्वाडी पब्लिक मावि र चन्द्रज्योति माविबीच हुनेछ ।
च्वाडीले शिलादेवी माविलाई २-१ गोलअन्तर र चन्द्रज्योतिले जालपादेवी बोर्डिङ स्कुललाई ट्राइब्रेकरमा ५-३ गोलअन्तरले हराउँदै फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
यद्यपि चन्द्रज्योति मावि र च्वाडी पब्लिक मावि एउटै भूगोलका हुन् । विदुर नगरपालिका वडा नम्बर ५ स्थित माझिटार र तल्लो पिपलटारका हुन् ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा फाइनल खेलको प्रत्यक्ष प्रसारण नेपाल स्पोर्ट्स नेटवर्कको सामाजिक सञ्जालमार्फत हेर्न सकिने छ ।
प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ ५ समुहले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
प्रतियोगिताका विजेताले छात्रतर्फ ३० हजार र छात्रातर्फ १५ हजार नगद पुरस्कार र उपविजेता छात्रतर्फ १५ हजार र छात्रातर्फ ७ हजार ५०० रुपैँया नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
