पुस १०, नुवाकोट । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक बित्दा पूँजीगत खर्च ४.९८ प्रतिशत मात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
कार्यालयका अनुसार कार्तिक मसान्तसम्म १२ वटै स्थानीय सरकारले १२ करोड ७६ लाख ६६ हजार ७०६ रुपैयाँ मात्रै पूँजीगत खर्च गरेको छ। यस वर्ष सरकारले पूँजीगत खर्चका लागि दुई अर्ब ५५ करोड ८६ लाख ७८ हजार ८२० रुपैयाँ छुट्याएको थियो ।
तथ्यांकअनुसार ककनी गाउँपालिकाले सबैभन्दा बढी र तादी गाउँपालिकाले सबैभन्दा कम पूँजीगत खर्च गरेको छ ।
ककनी गाउँपालिकाले १३.२३ प्रतिशत, विदुर नगरपालिकाले ७.८ प्रतिशत, बेलकोटगढी नगरपालिकाले ७.४५ प्रतिशत, तारकेश्वर गाउँपालिकाले ५.५८ प्रतिशत, लिखु गाउँपालिकाले ५.२९ प्रतिशत र किस्पाङ गाउँपालिकाले ४.२६ प्रतिशत पूँजीगत खर्च गरेको छ ।
यसैगरी, दुप्चेश्वर गाउँपालिकाले २.९४ प्रतिशत, म्यागङ गाउँपालिकाले २.०६ प्रतिशत, सूर्यगढी गाउँपालिकाले १.४३ प्रतिशत, शिवपुरी गाउँपालिकाले १.०७ प्रतिशत, पञ्चकन्या गाउँपालिकाले ०.८९ प्रतिशत र तादी गाउँपालिका ०.७१ प्रतिशत खर्च गरेको छ ।
जिल्ला समन्वय समिति नुवाकोटको प्रथम त्रैमासिक प्रगति समिक्षाको प्रतिवेदनअनुसार स्थानीय तहहरुले पहिलो चौमासिकमा ७९ करोड ७१ लाख ६९ हजार २०५ रुपैँया चालुगतमा खर्च गरेको छ । चालु बजेटमा चार अर्ब ४५ करोड ६३ लाख ६३ हजार रुपैँया बजेट विनियोजन गरिएतापनि १७.८९ प्रतिशत खर्च गरेको देखिएको छ ।
प्रतिवेदनअनुसार विकास निर्माणका कार्यमा समयमै ठेक्का नलाग्नु, सम्झौता बमोजिमका कार्य सञ्चालन हुन नसक्नु वा बारम्बार समय सीमा थपिँदा पनि कार्य पूर्ण हुन नसक्नु प्रमुख समस्या रहेको छ । स्थानीय तहहरुमा सञ्चालित विकास निर्माण तथा पूर्वाधार निर्माण कार्यमा सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्नुपर्ने देखाएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
