११ पुस, नुवाकोट । हेटौँडामा बुधबारदेखि सुरु भएको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा पहिलो खेलमै बट्टार युथ क्लब पराजय भएको छ ।
दोस्रो संस्करणको फुटबल प्रतियोगितामा दोलखाका टाईगर टिम तिखातलले नुवाकोटका बट्टार युवा क्लबलाई हराउँदै विजयी भएको हो ।
हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा टाईगरले बट्टारलाई २–१ गोलको अन्तरले पराजित गरेको छ । जीतसँगै टाईगर सेमीफाइनल प्रवेश गरेको छ ।
खेलको ३१औं मिनेटमा बट्टारले पाएको पेनाल्टी कप्तान सन्तोष थापाले छुटाए ।

खेलको पहिलो हाफमा टाईगरका जर्सी नम्बर १४ का सुजन माझीले ३५औं मिनेटमा १ गोल गरे ।
दोस्रो हाफमा बट्टारका जर्सी नम्बर ४ का किशोर पण्डितले ५३औं मिनेटमा १ गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काए ।
दोस्रो हाफमा जर्सी नम्बर १९ का सङ्ग्राम श्रेष्ठले थप १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिए ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फामा आबद्ध भएका ११ जिल्लाका फुटबल संघको सहभागिता छ । रामेछाप र रसुवा एन्फामा आबद्ध नभएको कारणले सहभागी छैनन् ।
प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाखसहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
