१६ पुस, नुवाकोट । जिल्ला खेलकुद विकास समितिले खेलाडीहरुको एकीकृत अभिलेख कार्य सुरु गरेको छ ।
एकीकृत अभिलेख कार्यको तयारीका लागि मङ्गलबार जिल्लाका विधागत खेल सङ्घका प्रमुख तथा प्रतिनिधिहरुसँग खेलाडीको विवरण उपलब्ध गराउने बैठकले निर्णय गरेको समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
नुवाकोट जिल्लाको खेलकुद क्षेत्रमा योगदान पुर्याउने र पदक विजेता खेलाडीहरुको अभिलेख गर्ने कार्य सुरु गरिएको उनले बताए । खेलकुदको इतिहास लामो भए पनि अभिलेखीकरण नभएको भन्दै अभिलेख कार्य सुरु गरिएको उनले बताए ।
देश तथा अन्तर्राष्ट्रियस्तरमै जिल्लाको नाम राख्न सफल हुने पदक विजेताहरुको अभिलेख गर्न लागिएको हो । साथै, स्थानीयदेखि राष्ट्रियस्तरका खेलकुदमा पदकधारी खेलाडीहरुको पनि यसै एकीकृत अभिलेख कार्यमा समेटिने उनले बताए ।
खेलाडीको अभिलेखको लागि यहि माघ १५ गतेभित्र विवरण बुझाउन सकिने जनाएको छ । साथै पदकसहितको खेलाडी विवरण अनलाईन फाराममार्फत् बुझाउन भनिएको छ ।
यसैगरी जिल्लामा रहेका खेलकुदका भौतिक पूर्वाधारहरुको पनि अभिलेख राखिने भएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
