पुस २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको भन्दै आज (पुस २१ गते) एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गर्न लागेको हो।
यो प्रक्रिया आज दिउँसो २ बजे बोलकबोलमार्फत हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप प्रदान गर्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५० करोड रुपैयाँको प्रस्ताव राख्न सक्नेछन्। कुल आह्वान रकमसम्मको प्रस्ताव निःशेष आधारमा वितरण गरिने छ।
बोलकबोल बहुब्याजदरमा गर्न सकिने व्यवस्था गरिएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन्। बोलकबोलमार्फत संकलित रकमको साँवा तथा ब्याज माघ १३ गते भुक्तानी गरिनेछ।
राष्ट्र बैंकले पुस महिनामा मात्र यो छैटौँ पटक तरलता खिच्ने प्रक्रिया अगाडि बढाएको हो। यसअघि पुस ३ गते १ खर्ब रुपैयाँ, पुस ७ र ९ गते ४० अर्ब रुपैयाँ, पुस १४ गते ७० अर्ब रुपैयाँ, र पुस १७ गते ४० अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि निक्षेप संकलन गरेको थियो।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
