८ माघ, नुवाकोट । तामाङ समुदायको परम्परागत बाजा अन्य जातिको भनि पाठ्यपुस्तकमा उल्लेख गरिएको भन्दै नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
सोमबार समितिका अध्यक्ष वीरबहादुर तामाङको नेतृत्वको टोली जिल्ला प्रशासन कार्यालय नुवाकोट विदुरमा पुगेर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
तामाङ जातिको इतिहास बोकेको सांस्कृतिक बाजा टुड्ना र डम्फु हो भन्ने सबैमा जानकारी हुँदाहुँदै नियोजित रूपमा षडयन्त्रपूर्वक अन्य समुदायको भनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा दर्ज हुने गरी कक्षा ९ को अनिवार्य विषय नेपालीमा नीतिगत रूपमा भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकालाई पठनपाठन गराईदाँ कति असर पर्छ भन्ने हेक्का नराखी तामाङ जातीको संस्कृति नै मेटाउने गरी तामाङ जातीले प्रयोग नगरेको वाजा समावेश गरिएको र अन्य जातीको बाजा समावेश गरी हाम्रो मौलिक बाजा हटाईएको प्रति घोर भर्त्सना गरिएको ज्ञापनपत्रमा भनिएको छ ।
पत्रमा ‘प्रस्तुत विषयमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानो ठिमी, भक्तपुरबाट प्रकाशित कक्षा ९ को नेपाली पाठ्यपुस्तकको पाठ १४ पृष्ठ नं. १५० मा मगर जातिका मादल, डम्फु र मुर्चुङ्गा बाजा नेपालका अमुल्य निधि हुन्। त्यस्तै तामाङ जातिका ग्यापुङ, सरुङ्गे, सिनडुङ बाजा राई किरातको बाँसतुम्वा, टुङ्ना र विनायो याजा लेखिएकोमा हाम्रो संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ।’

© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
