१६ माघ, काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् ।
बुधबार एसबानको नयाँ नेतृत्वलाई सम्मान गर्न नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उनले उक्त भनाइ राखेका हुन् ।
‘हामी सबैको उद्देश्य लगानी गरेर नाफा आर्जन गर्ने अनि सोही अनुरुप राज्यलाई कर तिर्दै देशको आर्थिक विकास गर्ने हो,’ नेपाल चेम्बर अफ कमर्सले एसवानका नयाँ कार्यसमितिलाई गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, ‘उद्देश्य एउटै भएपछि सबै आर्थिक र व्यवसायीका मुद्दामा सबै उद्योगी व्यवसायी र उनीहरुले नेतृत्व गर्ने संघसंगठन एक ठाउँमा उभिनुपर्छ ।’
विभिन्न संघसंस्थाहरुबीच फुटेर नभई एक आपसमा मिलेर सगम्र पुँजी बजारको विकासमा लाग्नुपर्ने उनले बताए । यसैगरी अहिले नेपाली पुँजी बजार फण्डामेन्टल्ली भन्दा पनि हल्लाको भरमा रुमलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।
‘अस्थिर नीतिका कारण अहिले सेयर बजारका लगानीकर्ताहरु मारमा परेका छन्,’ उनले भने, ‘लगानीकर्ताले देशको नीति र नेतृत्व हेरेर आफ्नो लगानी गरेका हुन्छन् तसर्थ राज्यले दिर्घकालिन नीति बनाउनु पर्छ, त्यसका लागि चेम्बर जस्ता संस्थाले सरकारसँग दरोसँग लविङ गर्नुपर्छ ।’
अहिले नेपाली पुँजी बजारमा सेयर खरिदबिक्री मात्र भैरहेको भन्दै अब बजारमा नयाँ प्रविधि सहितको बण्ड मार्केट, सर्टसेल, इन्ट्रा डे कारोबार, ब्रोकरलाई मार्जिन लेण्डिङ सुविधाजस्ता नयाँ प्रोडक्ट ल्याउनुपर्ने उनको भनाई थियो ।
हाल अर्थतन्त्रमा देखिएको सिथिलताको अन्त्य गर्न टेलिमक, नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थाहरुलाई बैंक वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा लगाईएको १५ प्रतिशतको क्याप हटाईनुपर्ने ढकालले बताए । बजारमा संस्थागत लगानीकर्ताको अभाव भैरहेको अहिलेको अवस्थामा बजारलाई थप चलायमान बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा सेयरबिक्री लगाएको क्यापलाई समेत हटाउनुपर्ने ढकालको माग थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
