८ फागुन, विदुर । प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका आशुतोष कुमारले जितेका छन् ।

नुवाकोट जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अङ्क जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन् । 

स्पर्धाको अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दाहालसँग बाध्यतात्मक बराबरी खेलेका थिए भने धिरेन राईले पुरुषोत्तम चौलागाईं माथि जित दर्ता गर्दै शीर्ष समान अंक बनाएका हुन् । 

होटल याङ्ग्रामा सात चरणको खेलबाट एफएम क्षीतिज भण्डारीले ५ दशमलव ५ अङ्क उच्च ३० बुकोज्ल्स् अङ्कका आधारमा तेस्रो हुन सफल भएका छन्। 

सिएम शुश्रुत दहालले अन्तिम चरणको खेलमा जित हासिल गर्न असमर्थ हुदा उपाधिवाट हात धुन पुगेका थिए। शुश्रुतले ५.५ अंक बनाउदै २९.५ बुकोल्ज्स् चौथो स्थान हात पारेका छन्। भारतका विनायक सिं यादव २५ बुकोल्ज्स् प्वाइन्ट प्राप्त गर्दै पाँचौं स्थानमा रहेका छन्।

यस्तै नेपालका युवा पुरुषोत्तम सिलवाल, भारतका मोहित कुमार सोनि, एफएम रुपेश जैसवाल, सुशील चौधरी र बद्रीलाल नेपाली समान ५ अंक जोडेर पाँचौ देखि दशौं स्थानमा रहन सफल भएका छन्। 

नुवाकोटका प्रकाश जोशीले ४ प्वाइन्ट बुकोल्ज्स् २१.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्। समान अंक चारमा सक्सेस श्रेष्ठले २०.५ बुकोल्ज्स् प्राप्त गरेका छन्। 

यस्तै समान ४ अङ्कमा शंकर प्रसाद घिमिरे तेस्रो, शिव श्रेष्ठ चौथो र सुरज लामा पाँचौ स्थानमा रहन सफल भएका छन्। 

यसैगरी महिला तर्फ नेपाली चेली बिनिता कपाली प्रथम, सिन्दिरा जोशी दोश्रो र भारतका वैष्णवी प्रकाशले तेस्रो स्थान हासिल गरेका छन् । 

खेलमा ७४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागी रहेको प्रतियोगितामा अनरेटेड तर्फ सुमित जोशी, नवीन वैद्य, अमित कुमार यादव क्रमशः शीर्ष तिन स्थानमा आएका छन्। 

सिनियर खेलाडी तर्फ नवीन तण्डुकार, मोहन सिं प्रधान, बसन्त श्रेष्ठ शीर्ष तिन , इलो १८ सय प्रेम खड्का, अर्मान सिद्दिकि, सुशील सुवेदी, इलो १६ सयमा विनोद तिमल्सिना, साहिद हुसेन, राजकुमार राई शीर्ष तिनमा छन्। 

यस्तै युवा १८ वर्षमा महाज इकबाल, आभाष कुमार श्रेष्ठ, सात्विक मान तुलाधर शीर्ष तिन , अन्डर युवा १६ प्रखर त्रिपाठी, प्रविण केसि, शाश्वत श्रेष्ठ शीर्ष तिनमा रहन सफल भएका छन्। 

कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, १ नम्बरका अध्यक्ष लेनिन रञ्‍जित, ४ नम्बरका अध्यक्ष निलमबाबु ढुङ्गेल, नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकार, प्रमुख निर्णायक एफए सोराज ताम्राकार, नुवाकोट जिल्ला चेस संघ अध्यक्ष प्रकाश जोशीलगायतले विजेता खेलाडीलाई नगद पुरस्कार, ट्रफि, तक्मा वितरण गरेका छन् । 

सम्बन्धित खवर