८ फागुन, विदुर । बाह्रौ अन्तर विद्यालय जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जालपादेवी बोर्डिङ (जेडि) स्कुलले जितेको छ ।
नुवाकोट क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा जेडिले निरञ्जना माध्यमिक विद्यालयलाई ३९ रनले हराएका हुन् ।
खेलमा जेडिका जोहन जेके म्यान अफ दि म्याच घोषित भए । उनले खेलमा सर्वाधिक ५० रन बनाए ।
जेडिले २० ओभरमा १३५ रन बनाएका थिए । यस्तै, निरञ्जनाले १९.४ ओभरमा ९६ रन बनाएका थिए ।
प्रतियोगिताका विजेता र उपविजेताले २० हजार रुपैँया र १० हजार रुपैँया नगद पुरस्कारसहित तक्मा र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट बलर युकेश पनेरु, उत्कृष्ट ब्याटर जोहन जेके, उत्कृष्ट खेलाडी जयराम भट्ट र उदयमान खेलाडी सौगात रेग्मी भए ।
विजेता र उपविजेतालाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, ४ नम्बर वडाका अध्यक्ष निलमबाबु ढुङ्गेललगायतले पुरस्कार वितरण गरेका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
