३ चैत, नुवाकोट । विदुर नगरपालिकामा आधारभूत तह कक्षा ५ र ८ को वार्षिक नगरस्तरीय परीक्षा सुरु भएको छ । नगरपालिकाले यस शैक्षिक सत्रदेखि कक्षा ५ र ८ को एकैपटक नगरस्तरीय परीक्षा लिएको हो । परीक्षा आज चैत ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षामा कक्षा ५ का एक हजार २५३ जना र कक्षा ८ का एक हजार २२२ जना विद्यार्थीहरुले सहभागिता जनाएको शिक्षा शाखा प्रमुख नवराज सापकोटाले जानकारी दिएका छन् । कक्षा ५ का लागि नगरका ५९ वटै विद्यालयलाई केन्द्र तोकिएको छ भने कक्षा ८ का लागि ११ केन्द्र तोकिएको छ ।
नगरस्तरीय भएको परीक्षाको नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, जनप्रतिनिधि, परीक्षा समितिका प्रतिनिधि लगायतको समुहले छुट्टाछुट्टै अनुगमन तथा निरीक्षण गरेका छन् ।
‘परीक्षा विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने महत्वपूर्ण माध्यम भएको र यसलाई मर्यादित ढंगले सञ्चालन तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय परीक्षा सञ्चालन महत्वपूर्ण भएको छ’, मेयर श्रेष्ठले भने ‘ परीक्षा विद्यार्थीको मात्र नभई विद्यालय, शिक्षक, अभिभावक, व्यस्थापन समितिको पनि हो । परीक्षाको नतिजाले नगरको समग्र शिक्षाको अवस्था दर्शाउने र आगामी रणनीति तथा कार्यक्रममा बनाउन सघाउ पुग्नेछ ।’ नगरपालिकाको नीति तथा कार्यक्रम बमोजिम यस वर्षदेखि कक्षा ५ को पनि नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरिएको उनले बताए ।
उपमेयर बोगटीले नगरस्तरीय परीक्षाको पहिलो दिन परीक्षा व्यवस्थित र मर्यादित ढङ्ग भएको जानकारी दिईन् । नगरले केन्द्राध्यक्षहरुलाई परीक्षा मर्यादित व्यवस्थित र जिम्मेवारी रुपमा सञ्चालन गर्नको लागि अभिमुखीकरणमार्फत निर्देशन दिएको जानकारी दिईन् ।
कक्षा ५ को लागि विद्यालयनै केन्द्र बनाए परीक्षा केन्द्राध्यक्ष खटाईएको छ भने कक्षा ८ को लागि केन्द्र र केन्द्राध्यक्षसहित अन्य शिक्षक तोकिएको छ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । ५ गते नेपाली, ६ गते गणित विषयको परीक्षा हुनेछ । ७ गते विज्ञान तथा प्रविधि, ८ गते सामाजिक अध्ययन तथा मानव मुल्य शिक्षा, १० गते स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला र ११ गते स्थानीय विषय हाम्रो विदुरको परीक्षा हुनेछ । बाँकी अन्य विषय विद्यालयगत परीक्षा हुने जनाएको छ ।
यस्तै, संस्कृततर्फ पहिलो दिन संस्कृत रचना, ५ गते नेपाली, ६ गते गणित ७ गते वेद, ८ गते कर्म काण्ड, १० गते संस्कृत भाषा र ११ गते संस्कृत व्याकरण तथा निजी शास्त्र हुनेछ।
परीक्षा दिउँसो १२ बजेर ३० मिनेटदेखि २ बजेर ३० मिनेटसम्म सञ्चालन हुने उनले जानकारी दिए । परीक्षा ५० पूर्णाङ्क रहेको छ । परीक्षाको नतिजा चैत मसान्तभित्र गरिने जनाएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
