चैत ३, नुवाकोट । नेपाल एडभेञ्चर रनिङ महासङ्घको आयोजनामा साहसिक तथा पर्यटकीय खेल ‘त्रिशूली अल्ट्रा-२०२५’ आयोजना हुने भएको छ ।
आइतबार विदुर नगरपालिकामा महासङ्घले पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा अन्तराष्ट्रिय, राष्ट्रिय र स्थानीय गरी करीब दुई सय ५० खेलाडीको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिए । करिब ५७ किलोमिटर दुरी रहेको प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासङ्घले चैत २३ गते शनिबार बेलकोटगढीबाट सुरु हुने उनले जानकारी दिए ।
प्रतियोगिता पुरा गर्न महिलालाई चार घण्टा र पुरुषलाई साँढे तीन घण्टा समय लाग्ने जनाएको छ।
महिला/पुरुष गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथों हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छैटौंदेखि दशौंसम्म हुनेले जनही ३ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा महासङ्घका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिँढीबाटो, मालाकोट, शेरा, मुरलीटार, नुवाकोट दरबार, दारीगौंडा, फँलाटे, डाँडागाउँ, गेर्खु शान्ती कल्याण स्कुल, चाँपटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर सिँढी, चारघरे, रनभुवेश्वरी स्कुल, देविघाट पुल हुँदै पवित्र तीर्थस्थल, देवीघाट बजारमा पुगेर समाप्त हुने बताईएको छ ।

२० भन्दाबढी चेकपोईन्ट रहने प्रतियोगितामा इच्छुक खेलाडीले महासङ्घ, नुवाकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युवा क्लबलगायत गरी अनलाईनमार्फत् नाम दर्ता गर्न सक्नेछन् ।
प्रतियोगितामा करिब ३२ लाख ५१ हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
नुवाकोट चार स्थानीय तह र रसुवाका एक स्थानीय तहको सहकार्य रहेको प्रतियोगिताले धावकहरूलाई शारीरिक र मानसिक रूपमा चुनौती दिनुका साथै नुवाकोट क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति, र ऐतिहासिक महत्त्वलाई उजागर गर्ने जनाएको छ।

© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
