चैत ८, काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।
बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको हो।
समझदारीपत्रमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन्। अस्पतालले बैंकका डेबिट वा क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ ।
अस्पतालले बैंकका ग्राहकलाई अस्पतालको सामान्य शय्या, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, बहिरंग सेवा र शल्यक्रियालगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।
यस साझेदारीपश्चात ग्लोबल आइएमई बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवासुविधा उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए। पोखरेलले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिविम्बित गर्नेसमेत स्पष्ट पारे।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
