१७ चैत, विदुर । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) नुवाकोटले बागमति प्रदेश सरकारलाई ३९ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आईतबार महासङ्घका अध्यक्ष श्यामराज कँडेलको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रमुख शशीधर घिमिरेमार्फत किसानहरु र कृषि क्षेत्रसँग सम्बन्धित नीतिगत, व्यावसायिक र व्यावहारिक समस्यालाई सुत्रबद्ध गरी विभिन्न ३९ बुँदे माग राखी प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नुवाकोट जिल्लास्थित यस वर्षको आलु खेतिमा कृषि ज्ञान केन्द्रद्वारा किसानहरुलाई वितरण गरिएको ‘सम्वृद्धि एम–४५’ नामक विषादीको कारण उत्पादनमा ठूलो क्षति हुन गएको पत्रमा भनिएको छ । सोको सम्पूर्ण पीडित किसानहरुलाई उचित क्षतिपूर्तिका लागि यथाशिघ्र माग गरेको छ ।
महासङ्घले नेपाल सरकारको अनुदान सहायतामा बनेको कोल्डस्टोरहरुबाट किसानहरुलाई आफ्नो उत्पादन स्टोर गर्दा लाग्ने भाडा दरमा कुनै पनि सहुलियत दर कायम नगरिनुका साथै असहज परिस्थित सृजना गरी व्यापारीहरुको सामानलाई मात्र प्रसय दिइरहेको हुँदा यथासिघ्र किसानहरुको कृषि उपजलाई प्राथमिकता दिई सहुलियत दरमा राख्ने व्यवस्था मिलाउन जोडदार माग गरेको छ ।
यस्तै, महासङ्घले राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेका बाँझो/प्रति/एलानी/नदि उकास जमिनहरु किसानलाई भाडामा लिने व्यवस्था गर्न माग गरेको छ ।
चुरे क्षेत्रको तीव्र विनाश रोक्न कडा नीति अबलम्बन गर्न महासङ्घले माग गरेको छ । चुरे संरक्षणका कार्यक्रमहरुलाई किसानमुखी र प्रभावकारी बनाउन पहल गरेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा किसानहरुको सहभागिताको सुचिश्चित गर्न पत्रमा भनिएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
