१८ चैत, रसुवा । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिन लले सोमबारको दिन हाकुमा आयोजित कार्यक्रमकाबीच एम्बुलेक्सको चाबी गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरेका हुन् ।
विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको जनाएको छ ।
आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत प्रदान गरिएको एम्बुलेन्स आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोष्टले सञ्चालन गर्नेछ । आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गरिनेछ ।
हेस्थ पोष्टले सञ्चालन गर्ने एम्बुलेन्सबाट आयोजना प्रभावित क्षेत्रका बिरामी तथा घाइतेलाई समयमै अस्पतालसम्म पुर्याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमका आमाछोदिङमो गाउँपालिका बडा नम्बर १ र २ का वडाध्यक्षहरु, स्वास्थ्य केन्द्र प्रमुख, आदिवासी जनजाति परिषद्का पदाधिकारीहरु,स्थानीय बासिन्दालगायतको सहभागिता थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
