२३ चैत, नुवाकोट । नेपाल आर्मीकाद्वय धावक होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको ‘त्रिशूली अल्ट्रा रेस’मा पहिलो भएका छन् । पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो भएका हुन् ।

नेपाल एडभेनञ्चर रनिङ महासंघद्वारा आयोजित प्रतियोगितामा श्रेष्ठले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २२ सेकेण्डमा पूरा गरेका हुन् । आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेण्ड समयमा दोस्रो र सोलुखुम्बुका अर्जुनकुलुङ राई ४ घण्टा ४१ मिनेट ४० सेकेण्ड समयमा तेस्रो भए । आर्मीका तिलकबहादुर सुनवार चौथो, रुकुमका शक्तिराम रोक्का पाँचौं, त्रिशूलीका राजेश उपरकोटी छैटौं, एपीएफका राजेन्द्र तामाङ सातौं, आर्मीका जुनेश खड्का आठौं, नविल बैंकका शेर थारु नवौं र रुकुमका दुर्गाराज बुढा दसौं भए।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको प्रतियोगिताको महिलामा सुनसरीले निर्धारित दूरी गर्न ५ घण्टा ५१ मिनेट समय खर्चिन् । ६ घण्टा १३ मिनेट २४ सेकेन्ड समय लगाएकी खोटाङकी निर्मला राई दोश्रो भइन् । तेश्रो स्थानकी नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेण्डमा दौड सकाइन् ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार हात पारे । चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि दसौं स्थानमा आउनेले जनही ३ हजार रुपैयाँ प्राप्त गरे।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामाले अल्ट्रा रेसले कुनैपनि क्षेत्रको पर्यटकीय स्थलको प्रबर्द्धन र पहिचान गर्न मद्दत पुग्ने धारणा व्यक्त आगामी दिनमा पनि प्रतियोगितालाई बागमती प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष एकेन्द्रबहादुर कुँवरले त्रिशूली अल्ट्रा रेस प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिदै अझ बृहत स्वरुपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

दौड नुवाकोटको बेलकोटगढीबाट सुरु भइ मालाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुंगिएको थियो । दौडमा ३ विदेशी खेलाडीसहित १ सय २५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

सम्बन्धित खवर