५ वैशाख, विदुर । नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले क्यालेण्डर सार्वजनिक गरेको छ ।
बट्टारमा भएको एक कार्यक्रम बिच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सङ्घद्वारा प्रकाशित २०८२ सालको क्यालेण्डर विमोचन गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले निजी क्षेत्रलाई लिएर सरकारले पनि अघि बढिरहेको अवस्थामा निजी क्षेत्र अनुशासित र मर्यादित भई कानुनको पालना गर्नुपर्ने बताए । कार्यक्रममा नगरले पर्यटन प्रबर्द्धनको लागि बट्टारको हावाघर र चारघरे जोड्ने झोलुङ्गे पुलको अवधारणा ल्याएको जानकारी दिए । जिल्लामा आर्थिक गतिविधि बढाउन नगरपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, २ नम्बर वडाका अध्यक्ष दीपक कायस्थ, नुवाकोट उद्योग तथा वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, होटल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष सन्तोष उप्रेतीलगायतले होटल तथा पर्यटन व्यवसायले बाह्रय तथा आन्तरिक पर्यटक भित्र्याउन खेलेको भूमिकाको बारे चर्चा गरेका थिए ।
क्यालेण्डरमा सङ्घको गतिविधि, नुवाकोटका जिल्लाका सम्पदाहरु र पदाधिकारीहरुको विवरण समावेश गरिएको सङ्घका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए । होटल तथा पर्यटन प्रबर्द्धनमा उक्त क्यालेण्डर प्रकाशित गरिएको उनले जानकारी दिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
