१७ वैशाख, विदुर । नुवाकोटमा जारी बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताका आजदेखि सेमिफाइनल खेल सुरु हुँदैछन् ।
सेमिफाइनलको पहिलो खेल सङ्कटा फुटबल क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ४ बजे सुरु हुनेछ । सङ्कटाले विभागीय टोली त्रिभुवन फुटबल क्लबलाई ३-० गोलअन्तर हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
यसैगरी, नेपाल पुलिसले गण्डकी प्रदेश फुटबल सङ्घलाई ४-० गोलअन्तर हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
यस्तै, सेमिफाइनलको दोस्रो खेल भोलि बिहीबार १८ गते रौतहट फुटबल क्लबले एपीएफ फुटबल क्लबसँग सामना गर्नेछ । रौतहटले रिगल रिसोर्ट मकवानपुरलाई ३-२ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
एपीएफले पद्मा स्पोर्ट्स क्लबलाई ४-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताका विजेता र उपविजेता ५ लाख र दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त गर्ने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
सबै खेलको ‘प्लेयर अफ द म्याच’ खेलाडीले पाँच हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडिलाई १० हजार रुपैँया नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
