२१ साउन, नुवाकोट । चित्रकार शशी डंगोलले नेवार समुदायको सांस्कृतिक सम्पदा लाखेको मुकुट (ख्वापा)लाई संरक्षण गर्ने उद्देश्यले सामाजिक सेवा घोषणा गरेका छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा समेत आबद्ध रहेका डंगोलले पुराना तथा रङ्ग गएका लाखे मुकुट आफ्नो बेत्रावती बजारमा रहेको पसलसम्म ल्याइदिए निःशुल्क रङ्गरोगन सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
डंगोल विगत तीन दशकदेखि सांस्कृतिक, सम्पदा तथा कलाको पुनरुद्धारमा सक्रिय छन्। लाखेको मुकुटलाई मौलिककै शैलीमा रङ्गरोगन गरी सांस्कृतिक पुनर्जागरणमा योगदान दिने उनको योजना छ।
अभियानले पुराना लाखे नाचका वस्तुहरूको संरक्षण, युवा कलाकारको सीप अभिवृद्धि, र सांस्कृतिक चेतना फैलाउने अपेक्षा गरिएको उनले बताए ।
डंगोलले भने, “हाम्रो सांस्कृतिक पहिचान जोगाउने प्रयास राष्ट्रप्रेमको अभिवृद्धि हो। यो अभियानले धेरैलाई जोड्नेछ।”
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
