२३ साउन, नुवाकोट । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र ओम शान्ति भवन बट्टारले तीन दिने बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार केन्द्रको कार्यालयमा सरोकारवालासँग भएको छलफलमा केन्द्र प्रमुख लिला दिदीले ब्रह्माकुमारीज विश्वविद्यालय मधुवनकाे विश्वव्यापि रक्तदान कार्यक्रम अन्तरगत रगतको आपूर्ति गर्न र रक्तदान सम्बन्धि जनचेतना युवापुस्तामा जगाउन शिविर आयोजना गर्न लागिएको बताईन् ।

प्रजापिता ब्रह्माकुमारि ईश्वरीय विश्व विद्यालय अन्तर्राष्ट्रिय संस्थाका पूर्व मुख्य प्रशासिका राजयोगिनी डा: प्रकाशमणीको १८ औं पुण्य स्मृति दिवसको अवसरसा विश्वभरका केन्द्रहरुमार्फत् एक साथ रक्तदान कार्यक्रम हुन लागेको उनले जानकारी दिईन् ।

सोहि अवसरमा नुवाकोटमा केन्द्रको मुख्य आयोजना नेपाल नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा यहि भाद्र ६ गते बट्टारमा, भाद्र ७ गते देवीघाटमा र भाद्र ८ गते ढुंगेमा रक्तदान शिविर गरिने केन्द्रका प्रमुख लिलाले जानकारी दिईन् ।

कार्यक्रममा नेपाल नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखाका प्रमुख हरि श्रेष्ठले गत आव २०८१/०८२ मा नुवाकोट जिल्लामा रक्तदान कार्यक्रम कम हुनुको साथै रगत सङ्कलन पनि कमि भएको बताए । साथै, उनले कार्यक्रममा रगतको महत्वबारे स्पष्ट पार्दै नुवाकोट र रसुवाको नागरिकलाई रक्त सञ्चार केन्द्रमार्फत् नि:शुल्क रगत उपलब्ध गराउँदै आईरहेको जानकारी दिए । उनले रगतदान गरेर मानिसको स्वास्थ्यमा असर नभई फाइदा हुने हुँदा ३/३ महिनाको समयान्तरमा रक्तदान गर्न सबैलाई अनुरोध गरे ।

कार्यक्रममा विदुर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ, ४ नम्बरका वडा अध्यक्ष निलमबाबु ढुंगेल, पूर्व अध्यक्ष टलकमान श्रेष्ठ, नेवाः देय् दबू नुवाकोटका अध्यक्ष रामप्रसाद जोशी, नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री त्रिपाठीलगायतको सहभागिता रहेको थियो।

केन्द्रको जिल्लामा ढुंगे, बट्टार, देवीघाट, ढिकुरे गरी सात ओटा ओम शान्ति शाखा रहेको छ ।

सम्बन्धित खवर