बिदुर । गत भदौ १० गतेको बाढी अघि बिदुर नगरपालिका वडा नम्वर ५ मा रहेको देबिघाट ज्येष्ठ नागरिक अध्ययन तथा संरक्षण प्रतिस्ठानमा आश्रित रहेका ज्येष्ठ नागरिकहरुका लागि नुवाकोट रेडक्रसले अस्थायी आश्रयस्थल बनाउने भएको छ । सहयोगी संस्था ईन्टरनेशनल फेडेरेशन अफ रेडक्रस (आईएफआरसी ) को सहयोगमा नुवाकोट रेडक्रसले ४० जना ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागेको आश्रयस्थलमा हाल प्रतिष्ठानको संरक्षणमा रहेका २५ जनाले आश्रय लिने छन् ।


नेपाल रेडक्रस सोसाईटी जालपादेबी उपशाखाको सकृयतामा जिल्ला शाखा नुवाकोटको नेतृत्वदायी पहलमा बिदुर नगरपालिका वडा नम्वर ५ तल्लो पिपलटारको देउरालीमा निर्माण हुने सुरक्षित आश्रयस्थल महिला र पुरूषको छुट्टाछुट्टै शौचालय, स्नानगृह र बिश्रामस्थलसहितको निर्माण हुने नुवाकोट रेडक्रसका सभापति हरी श्रेष्ठले जानकारी दिए ।


उक्त कार्यका लागि १० बर्षका लागि साढे तिन रोपनी जग्गा भोगचलनका लागि सम्झौता समेत भईसकेको प्रतिष्ठानले जनाएको छ । बाढीका कारण प्रतिष्ठानमा रहेका ५ जना ज्येष्ठ नागरिक बेपत्ता छन् भने एकजनाको शव प्राप्त भएको थियो । बाढी पश्चात १६ जना ज्येष्ठ नागरिक बिदुर नगरपालिका वडा नम्वर ६ स्थित कृष्ण प्रणामी मन्दिरमा , ७ जना काठमाडौं स्थित हेरचाह केन्द्रमा र अन्य चारजना आफन्तको घरमा आश्रय लिईरहेको प्रतिष्ठानले जनाएको छ ।
तस्वीर : रेडक्रसले उपलब्ध गराएको प्रस्ताबित भवनको प्रारुप

सम्बन्धित खवर